माघ १९ गते दिउँसोको समय छ, हामी टीकापुर शहरमा छौँ, म छु मेरो साथमा मेरा स्नेही भाइहरु तीर्थराज धिताल र टीकाराम रेग्मी छन्, टीकापुदेखि पश्चिम गोलौरी गाउँमा आफन्तहरुसगको भेटघाटको काम सकेर हामी टीकापुर फर्केका छौं । मेरा भाइहरु टीकापुर शहरसँग जोडिएका आफ्ना अतीतका पन्नाहरु पल्टाइ रहेका छन् र स्मृतिहरु वर्णन गरिरहेका छन् । म चुपचाप तिनका कुरा सुनिरहेको छु । ती आफ्नो बाल्यकाल सम्झन्छन्, म पनि विगतमा फर्कन्छु ।
२०४४ सालतिर हाम्रो परिवारले पाताभारको उल्टनपुर गाउँमा जमिन किन्यो । त्यसअघि हामी गोला बस्थ्यौ । २०४५ सालतिरबाट उल्टनपुर बस्न थाल्यौं । त्यो उल्टनपुरको बसाइका अनेक रमणीय स्मृतिहरु उनीहरु मलाई सम्झाइ रहेका छन् । बाल्यकालका उट्पट्याङ कर्महरु सम्झेर ती आज रमाइरहेका छन्, आफ्ना पुराना साथी मित्रलाल, मनऋषि, मणि, छत्र, क्षेत्र र नुतनहरुलाई सम्झीरहेका छन् । उनीहरू पुराना यादमा छन्, कहिले बनघुस्रा घाट त कहिले सनकट्टि घाट हुँदै कर्णाली नदी तरेका, छतिवन सामुदायिक बनको बाटोमा कुदेका, पैदल दौड्दै टीकापुर पुगेका, राज फिल्महलमा नयाँ नयाँ चलचित्र हेरेका घटनाहरु एक एक बेलिबिस्तार लगाई रहेका छन् । आज म यिनीहरूका मुहारभरि उल्टनपुर कालीन उही बालापन देखिरहेको छु । म यिनीहरूको दाइ मात्र हैन, म यिनको अलिकति अगुवा र शिक्षक पनि हु । अहिले यिनीहरू जे जसो अवस्थामा छ्न, त्यसको अलिकति जस र अपजसको हकदार म पनि छु झैं लाग्छ । लामो समयको अन्तराल पछिको भेट र विगतको आत्म प्राकाशनले होला आज हामी भावनामा छौँ ।
राजापुरपछि मलाई मन पर्ने अर्को शहर टीकापुर हो । टीकापुर शहर बन्न थालेपछि बर्दियाको भौरा टापुका माथिल्लो क्षेत्रका बासिन्दाका लागि टीकापुर पाएक पर्न थाल्यो । गोला, पाताभारबाट राजापुरका तुलनामा टीकापुर नजिक पर्थ्यो । मान्छेहरूको टीकापुरतिर आकर्षण बढ्यो । शिक्षा क्षेत्रमा टीकापुरले नाम कमाएको थियो । टीकापुर आवासीय माध्यामिक विद्यालय, जोपछि वीरेन्द्र विद्या मन्दिर बन्यो, त्यो पश्चिम नेपालकै प्रशिद्ध शिक्षण संस्था मानिन्थ्यो । बर्गिस बोर्डिङ स्कुलको नाम पनि चर्चित थियो । टीकापुरस्थित महेन्द्र पार्कले हेर्न आउने जोकसैलाई आकर्षित गरिहाल्थ्यो । कर्णाली नदी किनारमा निर्माण गरिएको यो शहर यथार्थमै सुन्दर लाग्थ्यो । धेरै लामो समयको अन्तरालपछि आज हामी यो शहरमा छौँ ।
मलाई यो शहर आफ्नो घरझै लाग्छ, यहाँ मेरा धेरै आफन्त, शुभचिन्तक, मित्र र प्रियजनहरु बस्छन्, आज कसैसँग भेट्ने समय मिलेन, धेरै आदरणीय र प्रिय मानिसहरूको सम्झना गर्यौँ हामीले । विगतको तुलनामा टीकापुरको आकार विस्तार भएको रहेछ, ठूल्ठूला र चौडा सडक बनिरहेको देखेर खुसी लाग्यो । टीकापुरको मुटुमा अवस्थित पुरानो ठूलो भवन चपाई भवनको दृष्य क्यामरामा कैद गरेर हामी राजापुरतिर फर्कियौ । अलि तल आइसकेपछि मलाई विमानस्थल हेर्ने रहर पलायो । लामो समयदेखि यो विमानस्थल प्रयोग विहीन छ, कुनै समय यो विमानस्थल लोकप्रिय थियो । मैले २०४६ सालमा एस एल सी पास गरेको हु । असारतिर हुनुपर्छ मिति याद भएन । साँझ रेडियोले एसएलसीको नतिजा प्रकाशित भएको समाचार प्रशारण गर्यो । अनि छट्पटी सुरु भयो, कसरी थाहा पाउने ? विद्यालयमा गोरखापत्र पाउने कुनै सम्भावना थिएन । अन्कल आदिचन्द्र धिताल जो गणेशपुर स्वास्थ चौकीमा अहेव हुनुहुन्थ्यो, उहाँले टीकापुर विमानस्थलमा गोरखापत्र पाइनसक्छ, जाऊ भन्नु भयो । बिहानै म र मेरो घनिष्ट साथी ईश्वर रेग्मी टीकापुर गयौं । विमानस्थलमा गोरखापत्र भेटियो तर च्यातेर टुक्राटुक्रा पारिएको । हामी टुक्राहरुमा आआफ्नो सिम्बोल नम्बर खोज्न थाल्यौं, खोज्दाखोज्दा पसिनाले भिज्यौ र अन्त्यमा भेटाएरै छोड्यौ ।
आहा ! त्यतिबेला हामी कति खुसी भएका थियौं ? शब्दमा वर्णन गर्न कठिन छ । दौडेर घर आयौं, घर, गाउँ, स्कुल सबैतिर त्यो गोरखापत्रको टुक्रा देखाउदै आफू पास भएको खुसियाली बाड्न थाल्यौं । विद्यालयमा लामो समयसम्म पनि गोरखापत्र आएन र साथीहरूले नतिजा थाहा पाउन लामै प्रतीक्षा गर्नु पर्यो । टीकापुर विमानस्थलको कुराले मलाई जहिले सुकै विगतको त्यो स्मृतिमा पुर्याउछ । मलाई लाग्छ विमानस्थल संचालनमा आयो भने यसले सुदूरपश्चिम क्षेत्र बाहेक बर्दियाबासीलाई समेत धेरै लाभान्वित गराउनेछ । यो सवालमा यस क्षेत्रका जनप्रतिनिधि र सरोकारवालाहरुले पहलकदमी लिन विलम्ब गर्नु हुँदैन । विगतमा हवाई यातायातका कारण टीकापुर सुविधासम्पन्न स्थल मानिन्थ्यो । अहिले त्यो गौरव हराएको छ । भाइ डाक्टर योगेन्द्र बजगाई विमानस्थल संचालनको मागसहित अखण्ड सत्याग्रहमा छन्, उनलाई धन्यवाद दिदै हामीले यसमा ऎक्यबद्धता प्रकट गर्यौ र आफ्नो गन्तव्यमा फर्कियौ।