Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

स्मृतिमा त्यो माघ १९

  • बर्दिया टुडे
  • 1.3K
    SHARES
  •  

    २०६१ साल माघ १९ गते राति तत्कालीन राजा श्री ५ ज्ञानेन्द्रले शाही घोषणा मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गनु गरे र सत्ता आफ्नो हातमा लिए । यस अघि पनि उनले देउवा नेतृत्वको जननिर्वाचित सरकार अपदस्त गरिसकेका थिए । दलहरूको आन्दोलनबाट झस्केका राजाले देउवालाई पुनः प्रधानमन्त्री बनाए । गोर्खाली राजाबाट न्याय पाएको अभिव्यक्ति दिएर देउवा राजाको टिके प्रधानमन्त्री बन्न गएका थिए भने प्रतिगमन आधा सच्चिएको अभिव्यक्ति दिएर एमाले समेत सरकारमा सहभागी भएको थियो । यसपटक राजाले देउवा लाई असक्षमको पगरी गुथाए र मन्त्री परिषदको अध्यक्ष स्वयं बनेर सत्ता सम्पूर्ण रूपमा आफ्नो हातमा लिए । नेपाल अधिराज्यको संविधान २०४७ मा यस्तो वयवस्था कतै थिएन । राजाले संविधानको उलंघन गरे र निरङ्कुश शासनको प्रारम्भ गरे । राजाको घोषणा सुनेर म आश्चर्यमा परे । रातभरि मनमा अब के हुन्छ भनेर कौतुहलता जागिरह्यो ।
     
    वातावरण अशान्त थियो । माओवादी विद्रोहले आफ्नो आकार लिइरहेको थियो । माओवादी आन्दोलनका कारण विस्थापित भएका नागरिकहरु गुलरियामा बढदै थिए । सदरमुकाम समेत सुरक्षित नरहेको अनुभूति थियो । जिल्ला प्रशासन कार्यालय आफ्नो साविकको ठाउँ छोडेर राधाकृष्ण चोक स्थित जिल्ला विकास समितिको गेष्ट हाउसमा सरेको थियो । विहान हुनासाथ म बजारतिर निस्किए । आकाशमा टम्म हुस्सु ढाकिएको थियो । अरु दिनका तुलनामा आज मानिसहरूमा थप अन्योल र आशङ्का बढेको थियो । राधाकृष्ण चोकस्थित एउटा चिया पसलमा केही मानिसहरूको चहलपहल देखेर म त्यहीँ गए।त्यहाँ गुलरिया नगरका पूर्व नगरप्रमुख गोविन्द पाण्डे, काङ्ग्रेस नेताहरु तेजबहादुर भाट, यज्ञ मजगैया, का‌ग्रेश प्रजातान्त्रिकका तत्कालीन सचिव विद्याप्रसाद खनाल लगायतका अगुवा व्यक्तित्वहरु त्यहाँ उपस्थित हुनुहुन्थ्यो । राजाको कदम प्रतिगामी हो र यसको सशक्त प्रतिवाद हुन्छ भन्ने हाम्रो साझा अभिमत बन्यो ।
     
    दिउँसो गुलरियामा नेपाली काङ्ग्रेसको जिल्ला अधिवेशन हुँदै थियो । म पत्रकारका रूपमा अधिवेशनको उद्घाटन सत्रमा सहभागी थिए ।त्यतिबेला हामीले बर्दिया समाचार साप्ताहिक पत्रिका संचालन गरेका थियौं । सुशीला गिरी प्रकाशक र म सम्पादकको भूमिकामा थियौं । महेन्द्र प्रकाश गिरीको उत्साह, अर्जुन आचार्य र डिएन गिरीको परिश्रमले पत्रिका सफलता पूर्वक संचालनमा थियो । काङ्ग्रेसको उक्त उद्घाटन समारोहमा बसिरहेकै बेला हामी बसेको ठाउमा एक जना सादा पोसाकमा प्रहरी साथी आउनु भयो जिल्ला प्रशासन कार्यालयमा बोलाएको सूचना दिनुभयो । त्यहाँ विशेष गरि स्थानीय पत्रिकाका सम्पादकहरुलाई बोलाइएको रहेछ । म, बालकृष्ण ओली, मेघराज सिग्देल, प्रताप गौतम, कृष्ण भण्डारी लगायत पत्रकारहरु प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा गयौं । जिल्लास्थित सुरक्षा अङ्गका प्रमुखहरुको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी नरेन्द्र दाहालले हामीसँग केही कुरा गर्नुभयो ।
     
    प्रमुख जिल्ला अधिकारी दाहाल व्यक्तिगत रूपमा असल मानिस हुनुहुन्थ्यो । उहाँ साहित्यमा पनि रुचि राख्ने हुनाले उहाँसग मेरो हार्दिक सम्बन्ध थियो । उहाँ निर्दयी उपनाममा कविता लेख्नुहुन्थ्यो । बर्दियाली साहित्य समाजको लहरमा मैले उहाँको कविता प्रकाशित गरेको थिए । तर आज उहाँको अभिव्यक्ति निर्दयी नै थियो । व्यवस्था परिवर्तन भएकाले लेख्दा ख्याल गर्नुहोला, तपाईंहरुलाई दुख दिनु नपरोस्, उहाँको अभिव्यक्तिमा निरङ्कुश सत्ताका प्रशासकको अभिव्यक्ति प्रष्ट ध्वनित हुन्थ्यो ।
     
    स्वतन्त्र पत्रकारिता प्रजातान्त्रिक व्यवस्थामा मात्र सम्भव हुन्छ, प्रजातन्त्र नभए पत्रकारिता रहदैन भन्ने कुरा मैले पढेको थिए । यो साच्चै रहेछ भन्ने मैले गहिरो अनुभूति गरे । निरङ्कुश सत्ताले पहिलो निशाना संचार क्षेत्रलाई गर्दो रहेछ भन्ने त्यो दिन मलाई टड्कारो अनुभूति भयो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij