गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह के.सी. ले पालिकाका सबै विद्यालयहरुको सरसफाई संरचनाहरु दिगो रुपमा प्रयोगयुक्त राखीराख्नका लागि मर्मत संभार कोषको स्थापना गर्न पालिका अगाडी बढ्ने बताउनु भयो ।
बेस संस्थाद्वारा बर्दिया जिल्लामा सञ्चालित WASH for Gender and Adolescent Inclusive School in Nepal (WASH GAINS) परियोजना अन्तर्गत पालिका संगको समन्वय बैठकमा उहाँले पालिकाले विद्यालय खानेपानी, सरसफाई र स्वच्छताका लागि कार्यविधि निर्माण गर्ने र मर्मत संभारका लागि सबै पक्ष बाट माग आईरहेको हुंदा आगामी बजेटहरुमा पालिकाका सबै विद्यालयहरुलाई समेटने गरि कोषको स्थापना गरिने प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रममा वडा अध्यक्ष धर्मप्रकाश थारुले मर्मत संभारकोषको अभावमा विद्यालयका खानेपानी सरसफाईका संरचनाहरु छिटै प्रयोग विहिन हुन जाने भएकाले मर्मत कोषको आवश्यक्ता रहेको र पालिकामा अब बन्ने योजनाहरु, नीति तथा कार्यक्रमहरुमा कोषको अवधारणलाई समेटदै लैजाने कुरामा जोड दिनु भएको थियो ।
बेस बर्दियाका जिल्ला अध्यक्ष विष्णु थारुले परियोजनाको सिमित श्रोतले विद्यालय खानेपानी सरसफाई तथा स्वच्छतामा केहि सिमित विद्यालयहरुमा मात्र कार्य भैरहेको र जसमा गरिने काम एक नमुनाको रुपमा गरिने र सो को प्रयोगता र दिगोपना तथा संरक्षणका लागि विद्यालय प्रशासन र पालिका बाट सहयोगको अपेक्षा आफुहरुले राखेकोे बताउनु भयो ।

परियोजनाको बारे जानकारी तथा यस कार्यक्रमको उद्देश्यहरु माथी प्रकाश पार्दै बेस संस्थाका तालिम तथा वकालत अधिकृत दुर्गा चौधरीले यस गेरुवा गाँऊ पालिकाका सरस्वती आधारभुत विद्यालय विन्द्रा र जानता आधारभुत विद्यालय सरखोलले आफ्नो स्वःमूल्याँकन गरेर १ ताराको पूर्ण अंक प्राप्त गरिसकेको र अन्य कार्यक्रम संचालनमा रहेको विद्यालयहरुको स्वः मूल्याँकनमा प्राप्त गरेको स्तरहरुमा छलफल गर्नु भएको थियो । यसै क्रममा विद्यालय खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी कार्यविधि २०७४ ले १० वटा सुचकहरुमा रहेका सूचाङ्कहरु माथि प्रकाश पार्नु भएको थियो ।
वाटरएड नेपालको अर्थिक सहयोगमा नेपाल प्रजनन् स्याहार केन्द्र (एनएफसीसी) तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल (एनएफडी–एन) को प्राविधिक सहयोगमा सञ्चालित वास गेन्स परियोजना बर्दिया जिल्लाको ठाकुरबाबा, बारबर्दिया, मधुवन र गुलरिया नगरपालिका र गेरुवा गाउँपालिकाका ३३ वटा विद्यालयमा संचालनमा रहेको बताउदै गेरुवा गाँउपालिकाको ४ वटा माध्यमिक र २ वटा आधारभुत सामुदायिक विद्यालयमा संचालनमा रहेको बेस संस्थाका कार्यक्रम संयोजक जगदिश प्रसाद चौधरीले जानकारी दिनु भयो ।

उहाँका अनुसार परियोजनाले ११ वर्षदेखि २० बर्ष उमेर समुहका १३ हजार ५०० जना किशोरकिशोरीहरुलाई लक्षित गरि सन् २०२३ अप्रिलदेखि २०२६ मार्चसम्म परियोजना संचालनमा रहने छ ।
कार्यक्रममा गेरुवा गाँउपालिकाका उपाध्यक्ष लक्ष्मी चौधरी, प्रमुख प्रशासकिय अधिकृत नर बहादुरचन्द, शाखाका प्रमुखहरु, कार्यक्रम संचालनमा रहेको क्षेत्रका वडा अध्यक्ष तथा प्रधानाध्यापकहरु, बेस संस्थाका प्राविधिक अधिकृत, सामाजिक परिचालन अधिकृत ी लागायत अन्य गेरुवा गाँऊ पालिकामा विद्यालय खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी काम गर्ने अन्य संघ संस्थाहरुको समेत उपस्थीति रहेको बैठकको सहजीकरण बेस संस्थाका शिक्षा अधिकृत निर्मला रिजालले गर्नु भएको थियो ।