राजापुर / बर्दियाको राजापुर नगरपालिकामा स्थानीय तह संग मानव वन्यजन्तु द्वन्द सम्बन्धि एकदिने संचेतनाअभिवृद्धि कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
वन ऎनले गर्दा विकास निर्माणका कामहरुमा धेरै अवरोध गर्ने गरेको र विकास हुने काम पनि पछाडि परेकोले विकासको प्रक्रिया समन्वयबाट अगाडि बढाएको कार्यक्रमका प्रमुख अतिथी राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारुले बताउनु भयो । उहाँले वन, वन्यजन्तुबाट पीडित भएका राहतका लागी विभिन्न निकायहरूमा आवाज उठाउदै आएको समेत बताउनु भयो ।
वन संरक्षणलाई आय-आर्जन संग जोडेर लग्नुपर्नेमा जोड दिदै डिभिजन वन कार्यालय बर्दियाका कार्यक्रम सबै मधुवन र ठाकुरबाबा केन्द्रित रहेकोले राजापुर नगरपालिकालाई पनि महत्त्वमा राख्न नगरप्रमुख थारुले आग्रह गर्नुभयो ।
राजापुर नगरपालिकाले वनको संरक्षण गरेको छ, गर्ने छ र अगाडि पनि डिभिजन वन सङ्ग हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्दै स्थानीय कच्चापदार्थलाई आय-आर्जन संग जोड्नु पर्नेमा नगरप्रमुख थारुले विशेष जोड दिनुभयो ।