गेरुवा गाउँपालिकाको नेपाल राष्ट्रिय गणेश माध्यमिक विद्यालय प्रसेनीपुरमा अक्षयकोष स्थापनार्थ ३ लाखको चेक हस्तान्तरण गरिएको छ ।
गेरुवा गाउँपालिका वडा न.६ नारायणपुर घर भई हाल अमेरीका निवासी समाजसेवीद्वय बसन्त गिरी तथा उनकी श्रीमती प्रनिशा गिरीले विद्यालयमा अक्षयकोष स्थापना गर्न रु ३ लाखको चेक वुधवार विद्यालयका प्रधानाध्यापक झक्क ढुंगाना लाई हस्तान्तरण गरेका हुन ।
सादा जीवन र उच्च विचारका अनुयायी आफ्ना स्वर्गीय मातापिता गिरीराज गिरी तथा कृष्णदेवि गिरी र कृष्णादेवि गिरीको सम्मानमा, ‘शिक्षा सेवानै राष्ट्रसेवा हो र परोपकार नै जीवनको सार हो’ भन्ने आदर्शबाट अभिप्रेरित भई उहाँहरुकै नाम वाट अक्षयकोषको स्थापना गर्न ३ लाखको चेक विद्यालयलाई उपलब्ध गराईएको हो ।
विद्यालयमा अध्ययनरत आर्थिक दृष्टिले कमजोर, पिछडिएका तथा जेहेन्दार बालबालिकाहरुलाई प्रोत्साहन, पुरस्कार एवं छात्रवृत्तिको माध्यमबाट विद्यालय शिक्षा र शैक्षिक क्रियाकलापमा टेवा दिई उनीहरूको भविष्य उज्ज्वल बनाउन मद्दत गर्ने हेतुले अक्षयकोष स्थापना गर्न लागेको समाजसेवी बसन्त गिरीले वताए ।
रकम नेपाल इन्भेष्टमेन्ट मेघा बैंकमा मुद्दती खाता खोली जम्मा गरिने छ । सो कोषको मूलधनको ब्याजबाट प्रत्येक बर्ष उक्त विद्यालयका एसईई उत्तीर्ण विपन्न एवं जेहेन्दार एक छात्र तथा एक छात्रालाई कक्षा ११ र १२ मा अध्ययन गर्न मासिक छात्रवृत्ति तथा विद्यालयमा अध्ययनरत प्राथमिकतामा परेका अन्य विद्यार्थीलाई विद्यालयको सिफारिसमा आवश्यकता अनुसार आर्थिक सहयोग उपलब्ध गराईनेछ ।