सरखोलः बर्दियाको गेरुवा गाँऊपालिका वडा नं. १ स्थित जनता आधारभुत बिद्यालयमा पहुँचयुक्त शौचालय, खानेपानी र हात धुने स्थानको शिलान्यास गरिएको छ । गेरुवा गाँऊपालिकाका अध्यक्ष जमान सिंह के सी तथा उपाध्यक्ष लक्ष्मी चौधरी द्वारा संयुक्त रुपमा समाबेशी पहुँचयुक्त खानेपानी ,सरसफाइ तथा स्वच्छता सुविधाको संयुक्त रुपमा शिलान्यास गर्नु भएको हो ।
वाटरएड नेपालको अर्थिक सहयोग तथा नेपाल प्रजनन स्याहार केन्द्र (एनएफसीसी) तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल .(एनएफडी–एन) को
प्राविधिक सहयोगमा बेस संस्थाद्वारा सञ्चालित WASH for Gender Adolescent Inclusive School in Nepal (WASH GAINS) अन्तर्गत सरसफाइमा अपाङ्गता भएका वालबालिकाहरु, किशोरीहरुको पहुँच बृद्धि गरी सिकाईको वातावरण सिर्जना गर्ने उद्देश्यले समाबेशी तथा पहुँचयुक्त खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधा निर्माणको सुरुवात गरिएको हो ।

शिलान्यास कार्यक्रममा अध्यक्ष जमान सिंह के सि ले विद्यालयमा पहुँचयुक्त तथा समाबेशी खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधा निर्माणको कामले विशेष गरी अपाङ्गता भएका वालबालिकाहरु र किशोरीहरुको लागि एकदमै प्रभावकारी हुने बताउनुभयो । उहाँले गाँऊपालिका समाबेशी तथा पहुँचयुक्त वास सुविधा प्रवद्र्वनका लागि प्रतिबद्ध रहेको र विद्यालयमा निर्धक्कताका साथ पढाईमा ध्यान दिई शिक्षण गुणस्तरमा बृद्धि हुने समेत जानकारी गराउनुभयो ।
कार्यक्रममा बेस संस्थाका प्राविधिक अधिकृत वसन्त यादवले विद्यालयमा पहुँचयुक्त शौचालय, खानेपानी तथा हात धुने स्थानहरु निर्माण गर्ने र विद्यालयमा २० लाख ३२ हजार ३७ रुपैयाँ बेस संस्था मार्फत बजेट विनियोजन गरिएको जानकारी गराउनुभयो ।
यस्तै तालिम तथा वकालत अधिकृत दुर्गा बहादुर चौधरीले समाबेशी तथा पहँचयुक्त वास सुविधा निर्माण पश्चात अपाङ्खता भएका वालबालिकाहरु, किशोरीहरुको वास सुविधामा पहुँच बृद्धि हुने र यसले सिकाईको वातावरण सिर्जना हुने बताउनुभयो ।उहाँले विद्यालयमा विद्यार्र्थीहरुको निरन्तरता तथा सिकाई उपलब्धीमा सहयोग पुग्ने र विद्यालयलाई विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यविधि २०७४ अनुसार तारा पद्धति अनुसार क्रमशः एक तारा, दुई तारा र तीन तारा घोषणामा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । चौधरीले सम्पूर्ण निर्माण कार्यको जिम्मेवारी विद्यालय परिवारको भएकाले विद्यालय व्यवस्थापन समिति तथा प्रधानाध्यापकले विशेष गुणस्तरीयता तथा दिगोपनाका लागि ध्यान दिन अनुरोध गर्नुभयो ।

यो परियोजना बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका, बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका, गेरुवा गाँऊपालिका र गेरुवा गाउँपालिकाका ३३ वटा विद्यालयमा सञ्चालन भैरहेको छ । ११ देखि २० बर्ष उमेर समूहका १३ हजार ५ सय जना किशोर किशोरीहरुलाई लक्षित गरी अप्रिल २०२३ देखि मार्च २०२६ सम्म यो कार्यक्रम सञ्चालन हुनेछ ।
विद्यालय व्यवस्थापन समितिका सदस्य हिरा थारुले विद्यालयमा निर्माण भईरहेका संरचनाको गुणस्तर बढाउन र अन्य कार्यक्रमहरुको सहयोग गर्न प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा अध्यक्ष कर्म प्रसाद चौधरी बेस संस्था बाट सामाजिक परिचालन अधिकृत फूलमोती चौधरी सहायक इन्जिनयर सुभास भारती विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ तथा विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन विद्यालयका प्रधानाध्यापक नचना चौधरीले गर्नु भएको थियो ।