आज एकाबिहानै श्रद्धेय दाइ वासुदेव चौधरीको निधनको खबरले म विस्मित भए । विश्वास नै लागेन । नेपाली काङ्ग्रेसका नेता दाइ विद्याप्रसाद खनाललाई फोन गरे । उहाँले प्रष्ट उत्तर दिनु भएन , १० मिनेटमा आफूकहाँ आउन भन्नुभयो । हामी दुबैजना वासु दाइको घरमा गयौं । उहाँ निष्प्राण जमिनमा सुत्नुभएको थियो । शुभेच्छुक र साथीभाइहरुको उपस्थिति बढ्न थालेको थियो । उहाँको निधन मेरा लागि अविश्वसनीय थियो ,तथापि यो क्रूर सत्य थियो ।

वासु दाइ बर्दियाको लोकतान्त्रिक आन्दोलनको एक अविस्मरणीय योद्धा हुनुहुन्छ । २०४६ को जनआन्दोलनमा उहाँ अग्रपंक्तिमा उभिएर संघर्ष गर्ने विद्यार्थी नेतामा गनिनुहुन्छ । बर्दिया जिल्लामा नेपाल विद्यार्थी सङ्घ र नेपाली काङ्ग्रेसको सङ्गठन निर्माणमा उहाँको महत्वपूर्ण भूमिका छ । सधै लोकतान्त्रिक आन्दोलनको झण्डा उठाइरहने निर्भीक व्यक्तित्वको पहिचान निर्माण गर्नुभएका वासु दाइ पछिल्लो समय काङ्ग्रेस राजनीतिबाट टाढा हुनुहुन्थ्यो तथापि उहाँ भावनात्मक रूपमा लोकतान्त्रिक आन्दोलन सदैव सन्निकट हुनुहुन्थ्यो ।
राजनैतिक पृष्ठभुमि र संघर्षको पूजीले ओतप्रोत वासु दाइ बर्दियाको पत्रकारिता क्षेत्रमा समेत स्मरणीय हुनुहुन्छ । कुनै समय बर्दियामा सर्वाधिक लोकप्रिय पत्रिका नयाँ मुलुकमा प्रधान सम्पादक भएर उहाँले कुशल सम्पादकको भूमिका निर्वाह गर्नुभएको थियो । नेपाल पत्रकार महासंघ बर्दियाको सदस्यको रूपमा उहाँ लामो समय पत्रकारितामा आवद्ध रहनुभयो र अभिभावकीय भूमिका निर्वाह गर्नुभयो । म दुई पटक यो जिल्लामा नेपाल पत्रकार महासङ्घको अध्यक्ष भए । म अध्यक्षको जिम्मेवारीमा रहदा उहाँले जुन प्रकारको सहयोग र सद्भाव प्रकट गर्नुहुन्थ्यो ,त्यो मेरा लागि चिरस्मरणीय छ ।
समाजसेवा उहाँको जीवनको अर्को उज्यालो पाटो थियो । बर्दियामा उच्च सामाजिक छवि भएको संस्था राधाकृष्ण थारु जनसेवा केन्द्र लगायतका सामाजिक सङ्घ संस्थाहरुमा उहाको उल्लेखनीय कृयाशीलता थियो । कानुन व्यवसायी, लेखक, समाजसेवी, राजनैतिककर्मी जस्ता समाजका बहुआयामिक विधामा जोडिनुभएका वासु दाइ एक असल मान्छे हुनुहुन्थ्यो ।बर्दिया जस्तो विविधता युक्त बस्तीमा उहाँ सामाजिक सदभावका विम्व हुनुहुन्थ्यो । एक सहृदयी व्यक्तित्व हुनुहुन्थ्यो ।उहाँको यो यो असामयिक निधनले हाम्रो समाजलाई अपुरणीय क्षेति पुर्याएको छ । म यो पीडाको क्षेणमा शोक सन्तप्त परिवार जनमा हार्दिक समवेदना प्रकट गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दछु।