बर्दिया : गत भदौ १७ गते बिहान जिल्ला कारागार, बर्दियाबाट फरार भएका कैदी बन्दी टोपे भनिने अजित बुढाक्षेत्री फरार भएको घटनाको सम्बन्धमा छानबिन टोलीले जेलर सन्तोष विकलाई कारबाहीको लागि सिफारिस गरेको छ ।
यसका साथै त्यस दिन खटिएका कारागारका सुरक्षा प्रमुखसहितका प्रहरीहरूलाई छानबिनका लागि जिल्ला प्रहरी कार्यालयमा तानिएको छ ।
कर्तव्य ज्यान मुद्दाका कैदी बुढाक्षेत्री फरार भएको तीन साता बितिसक्दा पनि पक्राउ पर्न सकेका छैनन । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत, बर्दियाबाट ३० वर्ष कैद सजाय पाएका बुढाक्षेत्रीलाई एक वर्ष कैद भुक्तानी नहुँदै नाइके बनाइएको थियो । उनलाई कारागारका प्रमुख सन्तोष विकको निर्देशनमा कारागार ऐन नियमविपरीत नाइके बनाएपछि शंकाको घेरामा परेका थिए ।
०७२ साल फागुन ५ गते ठाकुरबाबा नगरपालिका—८ का जोरा सिंह थापाको हत्या अभियोगमा बुढाक्षेत्री पक्राउ परेका थिए । ०७२ साल फागुन ३० गते पेसीका लागि जिल्ला अदालत, बर्दियामा ल्याउँदा शौच गर्ने बहानामा बुढाक्षेत्री हतकडीसहित फरार भएका थिए । भारतमा लामो समय लुकेर बसेका उनी बर्दिया आउँदा प्रहरीले ०७९ साल कात्तिक २१ गते पक्राउ गरेको थियो । र जिल्ला अदालत बर्दियाले हत्याका अभियुक्त बुढा क्षेत्रीलाई ३० वर्ष कैद सजाय गरेको थियो ।
त्यहाँ खटिएका प्रहरीले पर्खालमा लगाइएको तारजाली जीर्ण भएकाले मर्मत गर्न जेलर विकसँग आग्रह गर्दै आएका थिए । तर जेलर विकले तारजाली मर्मतमा वास्ता नगरेका कारण हत्याका अभियुक्त फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताए । साथै ३० वर्ष सजाय पाएका अभियुक्तलाई भाइ नाइके बनाउनु जेल प्रशासनको ठूलो कमजोरी भएको उनले बताए । जवकि उनी जेलमा बसेको सात महिना मात्रै पूरा भएको थियो ।
कैदी फरार भएपछि सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद अर्यालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो । कैदी बुढा क्षेत्री फरार भएपछि उनको गाउँ आसपासमा सुरक्षाको व्यवस्था कडा पारिएको छ । (कान्तिपुर)